काठमाडौं– स्थानीय बजारमा एक सातामै हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ।
स्थानीय बजारमा एक साताअघि ३५ रुपैयाँ केजीमा पाइने तरकारीको भाउ यो साता सयको हाराहारीमा पुगेको छ।करेला, बोडी, भिन्डी, लौका, घिउसिमीलगायत हरियो तरकारीको मूल्य उच्च रुपमा बढेको छ।
केही दिनअघि लगातार परेको झरीका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएसँगै आपूर्ति कम भएकाले मूल्य बढेको विक्रेताहरु बताउँछन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवार प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ। यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । ३० रुपैयाँको भिन्डीको एक सातामाा ६६ रुपैयाँ पुगेको छ।
वर्षाका कारण बारीमै तरकारी नष्ट हुनु तथा पहिरोले सडक अवरुद्ध भई बजारसम्म तरकारी ल्याउन नसक्दा पनि मूल्य बढेको बानेश्वरस्थित तरकारी बजारका थोक विक्रेता अच्युत नेपालको भनाइ छ।
तरकारी आयातकर्ता समेत रहेका उनकाअनुसार सडक अवरुद्ध हुँदा गाडीमा लोड भएको तरकारीसमेत नष्ट भएर बाटोमै फाल्नु परेको छ। त्यसको असर पनि मूल्यमा परेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।