काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारीमा उम्मेदवारी दिने संकेत गरेका छन्।
प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत छिट्टै आफ्नो उम्मेदवारी घोषणा हुने जानकारी गराएका छन्। आफूले पहिले नै 'प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन' भनेर भन्ने गरेको पनि शर्माले स्मरण गराएका छन्।
'उम्मेदवारी घोषणा कहिले? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु। 'प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन' भन्दै आएको थिएँ। 'वडा अधिवेशन' सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना। चाँडै नै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु,' उनले सामाजिक सञ्जालमा भनेका छन्।
संस्थापन पक्षमा रहेका शर्मालाई महामन्त्रीको उम्मेदवार हुने धेरैले आकलन गरेका छन्। पदाधिकारीमा उनको सबैभन्दा रुचीको पद पनि महामन्त्री रहेको छ। तर, संस्थापन पक्षबाट पदाधिकारीका उम्मेदवारहरु धेरै भएकाले शर्माले 'अवसर' पाउने सम्भावना कमै रहेको कतिपयको भनाइ छ।
महामन्त्रीमा २ जना निर्वाचित हुने विधानको व्यवस्था छ। उक्त पदमा गगन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।