काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकता राख्नुपर्ने बताएका छन्।
आफू कांग्रेसको महाधिवेशन हुनुपर्ने पक्षमा रहेको बताउँदै उनले कोरोना नियन्त्रणपश्चात् महाधिवेशन गर्नुपर्ने तर्क राखे। ‘कोरोना नियन्त्रण पहिले गरेर मात्रै महाधिवेशन गरौं। पार्टीको वैधानिकता सकिएको छैन’, उनले नेपाल लाइभसँग भने।
२०७३ को मंसिरमा पार्टी निर्वाचन आयोगमा दर्ता भएको उनले बताए। महाधिवेशनको ९ महिनापछि दर्ता भएको तथ्य रहेकाले कांग्रेसलाई संवैधानिक संकट नपर्ने उनको दाबी छ।
वैद्यका अनुसार कांग्रेसको वैधानिकता २०७९ सालको जेठसम्म छ। वैद्यले दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।