काठमाडौं- नेपाली कांग्रेसका देशभरका वडा अधिवेशन एकैसाथ सम्पन्न नहुने भएका छन्। क्रियाशील सदस्यताका सूची प्रकाशित गर्न ढिलाइ भएकाले एकैसाथ वडा अधिवेशन नहुने भएको हो।
भदौ २७ अघि वडा अधिवेशन सकाउने कांग्रेसको तयारी छ। गाउँ/नगरपालिकाको अधिवेशन भदौ २७ मा भएकाले त्यसअघि वडा अधिवेशन सक्नैपर्दछ। पार्टीले क्रियाशील सदस्यताको सूची प्रकाशित गरेपछि अनुकूल दिन छनोट गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ। हालसम्म ५६ जिल्लाको सूची प्रकाशित भएको छ।
सूची प्रकाशित भएका जिल्लामा समेत सबैमा एकैपटक भदौ १८ मा वडा अधिवेशन नहुने भएको छ। दुई दिनअघि सूची प्रकाशित भएको बागलुङले भदौ २१ मा वडा अधिवेशन गर्ने भएको छ। ‘जिल्ला कार्यसमितिले तय गरेको मिति अनुसार वडा अधिवेशन भदौ २६ सम्म गर्दा हुन्छ’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।
कांग्रेसले किस्ता किस्तामा नामावली प्रकाशित गर्दै आएको छ। नामावलीको सूची प्राप्त नहुँदा २१ जिल्लाले वडा तहको अधिवेशनको मिति तोक्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।