काठमाडौं- नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ। कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हो।
उक्त सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोस्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. राजेशदेवबीच हस्ताक्षर भएको हो। सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायव निर्देशक रोशनजंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारीको उपस्थिति रहेको थियो।
सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दसैं-तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमूना संकलनको सुविधा, अल्ट्रासाउण्ड र ईसीजीमा २०/२० प्रतिशत , माइनर अपरेसनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परीक्षणमा ५५.५६ प्रतिशत र मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी कोषमा सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याब सेवामा २५ प्रतिशत, दसैं र तिहारमा ल्याब सेवामा ३५ प्रतिशत, घरमै नमूना संकलनको सुविधा, अल्ट्रासाउन्ड र ईसीजीमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेग छुट दिने सम्झौतामा उल्लेख छ। यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागी भएका योगदानकर्ताहरुले लाभ लिनसक्ने कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।