काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ। पार्टीको आसन्न १४औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिका लागि एकल उम्मेदवार तय गर्न बसेको बैठकमा पौडेलपक्षीय नेताहरुबीच सहमति जुट्न नसकेको हो।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकमा सभापतिमा दाबी गर्ने प्रकाशमान सिंहबाहेक अन्य नेताहरु सहभागी भएका थिए। पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी बैठकमा उपस्थित थिए।
सभापतिमा दाबी नगरेका तर एकल उम्मेदवार बनाउन पहल गरिरहेका बलबहादुर केसी पनि बैठकमा सहभागी भएका थिए।
बैठकपछि नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिनेगरी वार्ता भएको प्रतिक्रिया दिइन्। उनले आफूहरु महाधिवेशनमा एक भएर जाने दाबी गरिन्।
अर्का नेता बलबहादुर केसीले केही दिनमा आफूहरुको पक्षमा सकारात्मक परिणाम आउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।