काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मिन विश्वकर्माले दुवै पदबाट राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै विश्वकर्माले बुधबार राजीनामा दिएका हुन्।
दलित समुदायलाई अपमान र अन्याय हुने गरी निर्वाचन निर्देशिका लागू गरिएको भन्दै विश्वकर्माले दुवै पदबाट राजीनमा दिएका हुन्।
‘पड्यन्त्रमुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन,’ उनले राजीनामा भनेका छन, ‘यो प्रवृतिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शुन्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेबार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागू हुने गरी दुवै पदबाट राजीनामा गरेको छु।’
उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिवद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैब लडिरहने समेत बताएका छन्।
स्थानीय तहका वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आएर ११औं, १२औं र १३औं महाधिवेशनमा विधान बमोजिम नै प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि शुनिश्चित हुने प्रावधान गरिएको थियो।
जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८ दशमलव ५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको बताउने गरिएको थियो।
वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको विश्वकर्माको भनाइ छ। निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको विश्वकर्माले आफ्नो राजीनामा 'पत्र'मा उल्लेख गरेका छन्।
‘पार्टीमा सधैं वर्चश्व रहेको जाति, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।