काठमाडौं– विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले रिसोर्ट परिसरमा नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालन गरेको छ।
जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिने सञ्चालकको भनाइ छ। अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ।
पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ।
विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङसमेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काई चियरसमेत सन्चालनमा ल्याएको छ।
उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना अनुसार आगामी दिनमा गतिविधिसमेत थपिने कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।