काठमाडौं- आफूलाई पार्टी विभाजनको डिलसम्म पुर्याएर १० जना एमालेका दोस्रो तहका नेता फर्किएको नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिको एमाले उपाध्यक्ष भीम रावलले प्रतिवाद गरेका छन्।
एमाले अन्तरसंघर्षका क्रममा अन्तिममा नेपालको साथ छाडेका रावलले नेपाललाई 'धकेलिँदा धकेलिनेले फर्काउँदा फर्किनुपर्ने' भन्दै व्यंग्यसमेत कसेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो?'
उनले द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुने तर सहमति भइसकेपछि एक भइ मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न नेपालले नसकेको बताएका छन्। 'द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुने तर सहमति भइसकेपछि एक भइ मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न,' रावलको टिप्पणी छ।
जिम्मेवारीबोध महत्त्वपूर्ण कुरा रहेको बताउँदै नेपाललाई 'गैरजिम्मेवार' करार समेत उनले गर्न खोजेका छन्। नेपालले शनिबार १० जना दोस्रो पुस्ताका नेताहरुले आफूलाई विभाजनको तहसम्म पुर्याएर अन्तिममा साथ छाडेको बताएका थिए।
तत्कालीन अन्तरसंघर्षमा नेपालपक्षबाट वार्तामा सहभागी छ जनासहित १० जना स्थायी कमिटी सदस्यले नयाँ पार्टी गठन प्रक्रियाअघि नेपालको साथ छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।