वीरगञ्ज- जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कू’लाई साथ दिएर महन्थ ठाकुर-राजेन्द्र महतोले कित्ता परिवर्तन गरेको आरोप लगाएका छन्।
जसपाले शनिबार वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले पहिलोपटक संसद विघटन गर्दा ठाकुर-महतोले प्रतिगामी भनेर ओलीविरुद्ध आन्दोलन गरेको र दोस्रोपटक ‘यू टर्न’ गरेर सरकारमा सहभागी भएको बताए।
‘ओलीले ‘कू’ गर्न खोजेका थिए। प्रतिगमन गर्न खोजेका थिए। सुरुमा संसद विघटन गर्दा ठाकुर–महतोजीले प्रतिगामी भनेर आन्दोलन गर्नुभयो। दोस्रोपटक मतियार बनेर ओलीकै कित्तामा गएर सहयोग गर्नुभयो,’ उनले भने।
उनले जसपा नेपाल एकढिक्का रहेकोसमेत बताएका छन्। ‘रुखका पातहरू झर्छन्। २–४ वटा पात झरेर रुख सकिँदैन। जसपा नेपाल झन् सुदृढीकरण भएको छ। हामी बलियो हुन्छौँ।’
भदौ १ र २ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यसमितिले ७ प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। जसपाले पार्टी सुदृढीकरणलाई मंसिरसम्म चल्नेछ।
कार्यक्रममा जसपाबाट निर्वाचित स्थानीय तहका पदाधिकारी, प्रदेशभित्रका केन्द्रीय सदस्य, कन्द्रीय पदाधिकारी, प्रदेश सांसद, केन्द्रीय परिषद्लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।