काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भयंकर प्रतिगमनका नायकको रुपमा देखापरेको टिप्पणी गरेका छन्।
शनिबार योङ कम्युनिस्ट लिगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीप्रति उक्त आरोप लगाएका हुन्। अध्यक्ष दाहालले संविधान निर्माणपछि देश विकासका लागि कम्युनिस्टहरु एक ठाउँमा आएको भए पनि त्यस्ता नायकहरुका कारण आन्दोलन गर्नुपरेको दाबी गरे।
उनले २०३८ सालमा आफूले भर्खर राजनीति सुरु गर्दादेखि जनयुद्ध र संविधान निर्माणसम्म सम्झना गर्दै यस्तो टिप्पणी गरेका थिए। जनयुद्धमा मानिसले सोचेभन्दा धेरै सफल भएको उनको दाबी थियो।
पृथ्वीनारायाण शाहपछि सवैभन्दा ठुलो लडाइँ जनयुद्ध भएको दाबी उनले गरे। राजाको निरंकुशताविरुद्ध लड्न सात राजनीतिक दलसँग भएको सहमतिले एउटा नयाँ राजनीतिक प्रयोग भएको उनले बताए।
'देशलाई गणतन्त्रको नयाँ युगमा लैजाने यही विन्दु थियो। गिरिजाप्रसाद कोइरालादेखि अन्य नेतासँग भएको भेट र वार्ताहरु अहिले सम्झेको छु,' उनले भने। संविधान सभाको दुई वटा निर्वाचन गरी संविधान बनाउने काम भएको भन्दै उनले संविधानपछि निर्वाचन हुने कि नहुने अन्योल पनि पार गरेर अहिलेको अवस्थामा आएको बताए।
'नेपालमा कम्युनिस्टहरु एकता भएमा विकास होला भनेर मैले नै प्रस्ताव राखेर एक भयो, तर त्यो दुर्भाग्य- पाँच वर्ष पनि टिकेन,' अध्यक्ष दाहालले भने, 'बरु यसमा भयंकर प्रतिगमनका नायकहरु देखापरे। प्रतिगमनविरुद्ध हामीले देशैभर संघर्ष गर्नुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।