काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।
शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेलपक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन केन्द्रित भएर लाग्ने निर्णय गरेको हो।
महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टीपंक्तिलाई एक औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेलपक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टीपंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गर्ने निष्कर्षमा पुगेको हो।
नेता सिंहले भने, ‘क्रियाशील सदस्यहरुको विवादसम्बन्धी बाँकि काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ। र, त्यसैअनुसार अघि बढिनेछ। आजै यो बैठकबाट रिले अनसनमा बसिरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ। अब महाधिवेशनका लागि सबैले एकजुट भएर कांग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ।’
पौडेलपक्षले दुई दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दबाब दिएको छ। दुई दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही भदौ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढ्ने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले सोहीअनुसार अघि बढ्ने निर्णय पनि गरिएको नेता सिंहले बताए।
पौडेलपक्षले यही भदौं १८ गतेबाट बडा तहको अधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयनमा नगए पार्टीको वैधानिकता नै संकटमा पर्ने निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।