काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभइ चोइटिएको बताएका छन्। शनिबार युवा संघद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले फुट्नु र चोइटिनु फरक कुरा भएको बताए।
'पार्टी फुट्यो भन्छन् कतिपयले। फुटेको होइन, केही मान्छे पतित भएका हुन्, बिग्रिएका हुन्। ती बिग्रिएका मान्छेले पार्टी छाडेका हुन्। अलिकति चोइटिएको हो भन्न सक्नुहुन्छ। फुट्नु र चोइटिनु फरक कुरा हो। भाँडाको छेउमा अलिकति चोट लाग्नसक्छ। अलिकति चोइटिनसक्छ। फुटेपछि गयो! पक्लक्कै हुन्छ। चोइटिएर पकाउन पनि खाँचो हुँदैन। खान पनि खाँचो हुँदैन,' उनले भने।
ओलीले कार्यक्रममा उपस्थितहरुलाई देखाउँदै 'फुटेको भए यस्तो हुन्थ्यो?' भन्दै प्रश्न गरे। 'पाका कमरेडहरु हुनुहुन्छ। भर्खरका कमरेडहरु हुनुहुन्छ। अनुभवी कमरेडहरु हुनुहुन्छ। तेजिला कमरेडहरु हुनुहुन्छ। महिला कमरेडहरु हुनुहुन्छ,' उनले भने।
ओलीले पार्टी विभाजनलाई नुहाउँदा झर्ने कपालसँग पनि तुलना गरे। 'नुहाउँदाखेर एक/दुईवटा कपालको रौं झर्छ। जति दामी साबुन लगाए पनि, राम्रो साबुन लगाए पनि, ब्रान्डेड साबुन लगाएर पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक/दुईवटा कपाल झर्छ। एक/दुईटा कपाल झर्दैमा टाउको सबै सिद्धिएको हुन्छ? त्यस्तै एक/दुईटा कपाल झरेजस्तै हो अहिले,' उनले भने।
त्यस्तै, उनले रुखको पातसँग पनि तुलना गरे। 'हरियो हुने रुखको पनि एक दुइटा पात झरिराखेको हुन्छ। फेरि पलाइराखेको हुन्छ,' उनले भने।
ओलीले माधवकुमार नेपाललगायतको बहिर्गमनलाई संकेत गर्दै एउटा दुई पात खस्दैमा पीर मानेर रुख नढल्ने बताए। 'एक दुईटा पात पहेँलिएर झर्छन्। रुखले पीर मानेर बस्छ? अर्को टुसो हाल्छ। अहिले हेर्नुस् त, कमिटीहरुको टुसा पलाएको हेर्नुस् त,' उनले कार्यक्रममा उपस्थितहरुलाई देखाउँदै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।