काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग शनिबार बिहान जानकारी लिएका छन्।
गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख, डीआइजीहरूसँग बाढी, पहिरो र डुवानबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिएका हुन्।
मन्त्री खाँणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात् जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिए।
‘अहिलेसम्म तपाईंहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाँणले भने, ‘अब पूर्वतयारी पनि त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला।’
उनले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।