काठमाडौं– संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबार हुने भएको छ।
सर्वोच्च अदालत प्रशासनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथि प्रारम्भिक (पहिलो) सुनुवाइका लागि आगामी शुक्रबारलाई पेसी तोकिएको जनाएको छ।
रिटमाथिको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइको दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अदालतमा अनुपस्थित हुने भएका छन्।
मुद्दामा पेसी तोकिने र सुनुवाइ हुने दिन प्रधानन्यायाधीश राणा अदालतमा उपस्थित हुने छैनन्। राणा अनुपस्थित हुने दिन कामु प्रधानन्यायाधीश तोकिने वरिष्ठतम् न्यायाधीशले पेसी तोक्नेछन् भने मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासको नेतृत्व पनि कामु प्रधानन्यायाधीशले गर्नेछन्।
मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि शुक्रबार उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन्।
अधिवक्ता ओमप्रकाश अर्यालसहितले ९ महिना अघि दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदा प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने कुरा उठेको थियो। राणाले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भइ लिखित जवाफ समेत पेस गरेकाले उनी अलग हुनुपर्ने माग कानुन व्यवसायीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।