काठमाडौं– संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटको सुनुवाइको पेसी कामु प्रधानन्यायाधीशले तोक्ने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइबाट आफूलाई अलग गरेपछि कामु प्रधानन्यायाधीश तोकिने वरिष्ठतम् न्यायाधीशले पेसी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नेछन्।
परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमाथि सुनुवाइका लागि पेसी तोक्ने र फैसला हुने दिन प्रधानन्यायाधीश राणा अनुपस्थित हुने सर्वोच्च अदालत स्रोतले जानकारी दियो।
'प्रन्या (प्रधानन्यायाधीश) श्रीमान्ले परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटमा पेसी तोकिने र अन्तिम फैसला हुने दिन अनुपस्थित हुने भन्नुभएको छ,' अदालत स्रोतले नेपाल लाइभसँग भन्यो, 'उक्त दिन कामु प्रधानन्यायाधीश ज्यूले पेसी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नुहुनेछ।'
मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि शुक्रबार उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन्।
अधिवक्ता ओमप्रकाश अर्यालसहितले ९ महिना अघि दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदा प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने कुरा उठेको थियो। राणाले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भइ लिखित जवाफ समेत पेस गरेकाले उनी अलग हुनुपर्ने माग कानुन व्यवसायीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।