काठमाडौं- पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइएको रिट शुक्रबार पेसीमा चढेसँगै सुनुवाइ सुरु भएको हो। अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन्। संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा बहस सुरु भएको हो।
संवैधानिक इजलासमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी नौ थान मुद्दा छन्। उक्त अध्यादेशविरुद्ध पहिलो रिट १ पुसमा दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइ नै भएन। सुनुवाइ नहुँदै सिफारिस भएका पदाधिकारीले नियुक्ति पाए।
त्यस्तै समृत खरेल, कृतिनाथ शर्मालगायतले पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा संविधानसँग बाझिएको दाबी गर्दै रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।