काठमाडौं– माओवादीसँग एकता हुनुअघि नै माधवकुमार नेपाल समूहले गठन गरेकाे वसन्त मानन्धर नेतृत्वको नेकपा एमाले काठमाडौं जिल्ला समानान्तर कमिटी नै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकाे छ।
बागमती प्रदेश सभा सदस्यसमेत रहेका मानन्धरसहितको कमिटीले समाजवादीमा लाग्ने घोषणा गरेकाे हाे। ‘हामी काठमाडौं जिल्ला कमिटीका सबै साथीहरु समाजवादीमा लाग्ने निर्णय गरेका छौं,’ नेपाल लाइभसँग कुरा गर्दै मानन्धरले भने, ‘अरु साथीहरु विस्तारै जोडिनुहुन्छ।’
पार्टीका विचार र दृष्टिकोणसहित भएमा अरु पनि विस्तारै थपिँदै जाने मानन्धरको भनाइ छ। बागमती प्रदेशका एमालेका कुल ५७ जना ( सभामुखसहित) सांसदमध्ये १२ जना नेपालपक्षमा खुलेर लागेका छन्।
यसअघि नेपालपक्षमा २१ जना रहेका थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि १२ मात्रै खुलेको मानन्धरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।