काठमाडौं– आर्थिक वर्ष २०७७/७८ मा नेपालको आयात र निर्यात दुवैमा सुधार भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित)अनुसार नेपालको आयात २८.७ प्रतिशतले बढ्दा निर्यात ४४.४ प्रतिशतले बढेको उल्लेख छ। सो अवधिमा कुल १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँबराबरको विभिन्न सामग्री निर्यात भएको छ।
अघिल्लो आर्थिक वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले मात्र वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत ५१.७ प्रतिशत र तथा अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनततर्फको निर्यातमा भने अघिल्लो आवको तुलनामा १४.७ प्रतिशतले घटेको छ।
नेपालबाट निर्याचत हुने बस्तुमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचालगायतको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायत वस्तुको निर्यात घटेको छ। अघिल्लो आवको तुलनामा चीनसँगका दुई मुख्य नाका तातोपानी र रसुवा भन्सार नाकाबाट हुने निर्यात भने घटेको छ। साथै कञ्चनपुर नाकाबाट हुने निर्यात व्यापारमा समेत कमी आएको छ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात भने २८.७ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँबराबरको विविध सामग्री आयात भएको छ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस ब्लेट, चामल, सुन लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारीलगायत वस्तुको आयात घटेको छ। आयाततर्फ पनि चीनबाट हुने व्यापारमा कमी आएको छ।
आव २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १६ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।