भक्तपुर- जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमै नसक्ने ९ आयोजनाका ६ निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले ती कम्पनीको विवरण मन्त्रालय पठाएको हो।
सूचीमा एकै निर्माण व्यवसायीका तीन आयोजना पनि परेका छन्। सूचीमा शैलुङ कन्सट्रक्सनका शारदा अधिकारी पनि परेका छन्। उनी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन्। हाल प्रचण्ड बस्दै आएको खुमलटारस्थित घर अधिकारीले उपलब्ध गराएका हुन्।
व्यवसायी अधिकारीको कम्पनीले कमलविनायक–नगरकोट सडक निर्माण समयमै पूरा गरेको छैन।
यस्तै सूर्यविनायक–७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधुरो देखिएको छ। उनको निर्माण कम्पनी लोहनी एन्ड ब्रदर्श/लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला–सल्लाघारी–भक्तपुर–नगरकोट–ब्यासी–सल्लाघारी–दरबार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो।
त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्सट्रक्सनले लोकन्थली हेल्थपोस्ट रमाइलो चेक चाइल्ड नेचर स्कुलसम्मको सडक निर्माण र हनुमन्ते खोला–अरनिको राजमार्ग–वप्पा पाटी–विहार–वहाखाबजार सडक निर्माणको ठेक्का पाएकामा दुई योजना अधुरा छन्।
दुवाकोट स्वास्थ्यचौकी भवन निर्माण अन्तर्गत शाह इञ्जिनियरिङ कन्सट्रक्सन प्रालि धापाखेलका सञ्जीव शाह, मनोहरा पुल–इन्द्रायणी–साँखु सडक योजनाका लामा बिल्डर्स/साल्पा शेर्पा/जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो बालकोट चोकअन्तर्गत वर्ल्डवाइड/विष्णु जेभी काठमाडौँका विष्णु लामाको नाम पनि समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको प्रजिअ नारायणप्रसाद भट्टले बताए।राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।