काठमाडौं– एमाले र माओवादी मिलेर बनेको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ।
आज निर्वाचन आयोगमा सो पार्टीका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ लगाय प्रमाणपत्र बुझ्न गएका थिए।
गत जेठ ३ गते दुई पार्टीबीच एकता भएको थियो। सोही दिन नै नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) नामको पार्टी दर्ताका लागि निवेदन दिइएको थियो। तर निर्वाचन आयोगले सो नाम प्रयोग गर्न नमिल्ने बताएपछि नयाँ नाम जुराइएको थियो।
यो पनि : महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगे पनि नेकपा दर्ता
आयोगले बुधबार पार्टी दर्ता गर्ने निर्णय गरेको थियो।
एमाले र माओवादी केन्द्रले प्रयोग गरेको नाम, झन्डा र चिह्न राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने पनि आयोगले निर्णय गरेको छ। अब नयाँ दलले माग गरेको सूर्य चुनाव चिह्नबाहेक माओवादी केन्द्रले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया हथौडा एक वर्षसम्म कसैले प्रयोग गर्न पाउनेछैन।
एमाले र माओवादी केन्द्र नाम पनि प्रयोगमा रोक लगाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।