काठमाडौं- नेकपा एमालेले आउँदो मंसिर १० देखि १३ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।
माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजित पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
मंगलबारको बैठकमा हिजो नेपाल समूहमा रहेका तर पार्टी विभाजन गर्ने निर्णयमा सामेल नभइ ओलीतिरै फर्केका स्थायी कमिटीका १० जना नेतासमेत सहभागी थिए।
‘पार्टीको दशौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ,’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुसँग भने।
एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटीको बैठक गर्ने, २७ र २८ गते केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको छ।
एमाले स्थायी कमिटीले २०७५ जेठ २ गतेको पार्टी सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाउने निर्णयसमेत गरेको छ। नवीकरणको क्रममा एकीकरणको क्रममा आबद्ध भएका सदस्यहरुको पनि नवीकरण गरिने बताइएको छ। २०७५ जेठ ३ गतेपछि दिइएका पार्टीका नयाँ सदस्यहरुको पनि नवीकरण २०७८ असोजभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै, स्थानीय कमिटीहरुलाई व्यवस्थित गर्ने सन्दर्भमा देशैभरि २०७८ कात्तिक ६ गते वडा अधिवेशनहरु (एकैचोटी एकै दिन) र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीहरुको अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।