काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि आठ वटा बुँदामा निर्णय गरेको छ। मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले असार २७ गते कार्यदलले तयार गरेको प्रस्तावको कार्यान्वयन गर्ने मोडालिटी तयार गरेको हो।
बैठकपछि जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा मूलरुपमा तीन वटा कार्यसूचीमाथि छलफल भएको र निष्कर्ष निकालिएको बताए। पहिलो कार्यसूचीमा १० बुँदे प्रस्तावको कार्यान्वयनको विषय रहेको र त्यस सम्बन्धमा हामीले विभिन्न आठ वटा निर्णय गरेको बताए।
प्रवक्ता ज्ञवालीका अनुसार स्थायी कमिटी बैठकले गरेका आठ वटा निर्णय यसप्रकार छन्-
पहिलो, पार्टीको पक्षमा रहेका क्रियशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीको रुपमा मातहत कमिटी तथा पार्टी सदस्यहरुसमक्ष प्रेषित गर्ने।
दोस्रो, १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्याहरु समाधान गर्न केन्द्रीय कमिटीले १० प्रतिशत मनोनयन गर्ने सुझाव दिएको छ। ती सदस्यहरु मनोनयन गर्न र केन्द्रीय निकाय तथा विभागहरुलाई पूर्णता दिन र आवश्यकता अनुरुप पुनर्गठन गर्ने गृहकार्य गर्न एउटा कार्यदल बनाइएको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनेछ।
तीन, २०७५ जेठ २ गतेको पार्टी सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाइनेछ। नवीकरणको क्रममा एकीकरणको क्रममा आबद्ध भएका सदस्यहरुको पनि नवीकरण गरिनेछ। र, २०७५ जेठ ३ गतेपछि दिइएका पार्टीका नयाँ सदस्यहरुको पनि नवीकरण २०७८ असोज सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।
चौथो, पार्टीको विधान महाधिवेशन यही असोज ४, ५, ६ गते काठमाडौंमा गर्ने। र, पार्टीको दशौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरु उपर छलफल गर्न २०७८ भदौ २५ र २६ गते स्थायी कमिटी, २७ र २८ गते केन्द्रीय कमिटी बैठकसमेत आयोजना गरिनेछ।
पाँचौं, पार्टीका स्थानीय कमिटीहरुलाई व्यवस्थित गर्ने सन्दर्भमा देशैभरि २०७८ कात्तिक ६ गते वडा अधिवेशनहरु (एकैचोटी एकै दिन) र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीहरुको अधिवेशन गरिनेछ।
छैटौं, यो पार्टी एकताको र यो पछिल्लो हाम्रो निर्णयको सन्देश सम्प्रेषित गर्नका लागि २०७८ भदौ १६ देखि २० गते सम्म केन्द्रीय प्रशिक्षकहरुको उपस्थितिमा सबै जिल्लाहरुमा जिल्ला कार्यकर्ता भेलाहरु र जनसंगठनको केन्द्रीय कार्यकर्ता भेलाहरु आयोजना गरिनेछ।
सातौं, पार्टी केन्द्रीय कमिटीको बैठक २०७८ भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।
आठौं, यस लगायतका अन्य निर्णयहरु र यस बीचमा हामीले गरेका निर्णयहरु र यसको दूरगामी प्रभाव र समसामयिक राजनीतिक स्थितिको बारेमा पार्टीका दृष्टिकोणहरु प्रस्ट पार्न भोलि पार्टी अध्यक्षलगायत जिम्मेवार नेताहरुको उपस्थितिमा तुल्सीलाल स्मृति प्रतिष्ठानमा ११ बजे पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।