काठमाडौं- नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विकास विरोधी समूहका कारण राजीनामा दिन बाध्य भएको बताएका छन्।
आफू आउँदा नोक्सानमा रहेको संस्थालाई नाफामा पुर्याउँदा विकास विरोधी समूहले देखी नसहेको उनको भनाइ छ। ‘प्रशासनिक खर्च उच्च भएर घाटामा रहेको निगमललाई अन्तर्राष्ट्रिय परियोजनामा लगानी गर्न सक्षम बनाउँदा निहित समूहको स्वार्थको कारण राजीनामा दिन बाध्य भए,’ उद्योग, वाणिज्य तथा आपूर्ति मातृका यादवलाई आज राजीनामापत्र बुझाएपछि उनले पत्रकारसँग भने।
आफू निगममा आउँदा प्रशासनिक खर्च उच्च, सञ्चित नोक्सानी र अर्बौं रुपैयाँ घाटामा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ऋण दिन आनाकानी गरेको अवस्थामा जमानीमा ऋण लिएको उनले बताए। हाल निगमले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गरिएको र अन्तर्राष्ट्रिय परियोजनामा लगानी गर्न सक्षम भएको उनको भनाइ छ।
उनले आफूले राम्रो काम गर्दागर्दै पनि विभिन्न निकायले असहयोग गरेको बताएका छन्। भने, ‘मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ। तर देशी/विदेशी शक्ति र अन्य समूहले मविरुद्ध खनिएर बद्नाम गरे।’
दैनिक रुपमा ट्यांकरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर अबको दिनमा माग पूर्ति गर्न नसक्ने समेत उनले प्रस्ट्याए। ‘आयल निगमले भण्डारण क्षमतामा वृद्धि गरेर आपूर्तिलाई सहज बनाउनुपर्छ। ग्यास र पेट्रोलियम पदार्थको बढ्दो मागलाई पूर्ति गर्न सरकारले छिटो भण्डारण क्षमता वृद्धिका लागि निर्माण कार्य थालनी गर्नुपर्छ,’ उनले सुझाव दिए।
उनले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीविहीन बनाएकाले यो पदमा बसिरहन उपयुक्त नभएको बताए। भने, ‘मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अर्डर जारी गरेको थियो। र, म हाजिर भएँ। हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन। ९ महिनासम्म बिनाजिम्मेवारी बस्न सह्य नभएर राजीनामा दिएको हो।’
निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो। जागिर अवधि करिब ६ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।