काठमाडौं– प्रहरी गाडीमा काठ तस्करी गरेको आरोपमा संखुवासभास्थित अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीमाथि छानबिन सुरु भएको छ। पूर्व क्षेत्र बाहिनीले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो।
बा.१ झ १६६९ नम्बरको प्रहरीकै ट्रकमा राखेर अवैध ढंगले विराटनगर तर्फ लैजाँदै गरेको सखुवाको काठको धनकुटाको मुलघाटस्थित सशस्त्र प्रहरीकै चेक पोष्टमा बरामद भएपछि घटना बाहिर आएको हो। सो काठ विराटनगर तस्करी गर्न लागिएको थियो।
पूर्व क्षेत्रीय बाहिनीले एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ।
डिएसपी भण्डारीलाई बाहिनीमा तानिएको र छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिने बाहिनीपति डिआईजी मन्दीप श्रेष्ठले बताए। डिएसपी भण्डारीसहित अन्य प्रहरीमाथि पनि छानबिन समितिले छानबिन थालेको छ।
तर, काठ भने जिल्ला वन कार्यालयले बिहिबारसम्म बुझ्न मानेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।