वालिङ– स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफार्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ।
कम्पनीले विद्युत् र बायोग्यास केही समय अगाडि उत्पादन गरेको हो भने गत सातादेखि जैविक मल उत्पादन सुरु गरेको हो। स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रो फार्मको शाखा उद्योगमार्फत जैविक मल उत्पादन गरिएको हो।
‘हामीले राष्ट्रिय कृषि नीतिको मापदण्डका आधारभित्र रहेर दैनिक १५ टन जैविक मल जर्मन र चिनियाँ प्रविधिबाट उत्पादन सुरु गरेका छौँ।’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने,‘उत्पादित मल १, २, ५, २० र २५ किलोका प्याकमा पाउडर र दाना दुवैमा ‘कृषक अर्गानिक मल’को नाममा बजारमा पठाउँछौँ।’
दैनिक २ लाख अण्डा उत्पादन गर्ने खिलुङ कालिका एग्रोफर्मबाट निस्कने १२ टन सुलीलाई मुख्य कच्चा पदार्थका रुपमा प्रयोग गरी त्यसमा चार टन गाईभैँसीको मल र झण्डै दुई टन हरियो घाँसपातको मिश्रणबाट कम्पनीले विद्युत्, बायोग्यास र जैविक मल उत्पादन गर्दै आएको छ।
‘उद्योगबाट दैनिक ३ सय ५० किलोवाट विद्युत्, १ सय २० किलो बायोग्यास र १५ टन जैविक मल उत्पादन हुँदै आएको छ।’, ढकालले भने, ‘एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन गर्ने कम्पनी नेपालकै पहिलो र अत्याधुनिक हो भन्ने हाम्रो दावी छ।’
बजारमा पाइने सिलिण्डरका ग्यासभन्दा यो ग्यास २० प्रतिशत बढी टिकाउ हुने कम्पनीले दावीसमेत गरेको छ। नागडाँडामा ३५ रोपनी क्षेत्रफलमा रहेको शाखा उद्योग झण्डै २५ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको हो।
७ जनाको समूहले सञ्चालन गरेको खिलुङ कालिका एग्रोफार्मले भिरकोट–७, ठाडाखेतमा ४० रोपनी क्षेत्रफलमा अत्याधुनिक फर्म स्थापना गरी दैनिक झण्डै २ लाख अण्डा उत्पादन गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।