काठमाडौं- इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले नियन्त्रणमा लिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै प्राधिकरणको कार्यालय दरबारमार्गमा उजुरी दर्ता गरेको छ।
आईस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण भरतपुर कार्यालय, जिल्ला प्रशासन कार्यालय चितवन, गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलगायतलाई बोधार्थसहित उजुरी दर्ता गरेको जनाएको छ।
भरतपुर विद्युत् प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण चार दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाएको, आमउपभोक्ताले इन्टरनेट प्रयोग गर्न नपाउँदा अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वञ्चितत हुन पुगेको आईस्पानले जनाएको छ।
'कोभिड-१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायत संवेदनशील क्षेत्र र सिंगो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरी दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरु इन्टरनेट सेवाबाट वञ्चित भएका छन्,' आईस्पानले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।