काठमाडौं– यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन गर्ने भएको छ। विभागको प्रस्तावमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो।
विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिस गरेको थियो। सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो।
विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यमापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए।
विभागले साउन अन्तिम सातादेखि नै ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो। कार्यालयहरू पनि त्यसअनुसार तयार भएरै बसेकाले सीसीएमसीको निर्णयलगत्तै ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।