काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकार पक्राउ परेका छन्। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले ताम्राकारलाई उनकै निवास कमलविनायकबाट पक्राउ गरेको हा । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ। होटल सञ्चालनका विषयमा लगानीकर्ताबीच विवाद उत्पन्न भएपछि प्रहरीले ताम्राकारलाई पक्राउ गरेको हो।
कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार, लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच विवाद उत्पन्न भएको थियो ।
होटलमा साहले एक करोड १५ लाख लगानी गरेको र उक्त रकम फिर्ता गर्न माग गरेका थिए । उता महतले पनि होटलमा लगानी गरेको बताउँदै आएका छन् । ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको बताउँदै आएका थिए । उनले दुवैको जम्मा ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।