बाजुरा– ठूलो संख्या गरिबीको रेखामुनि रहेको बाजुरामा सस्तो तर गुणस्तरीय शिक्षाका लागि चिनिएको समता स्कुललाई यहाँको स्थानीय निकायले बन्द गराउने निर्णय गरेको छ। कक्षा १ मा विद्यार्थी भर्ना लिई पढाउन सुरु गरेको समता स्कुललाई नगरपालिकाको शिक्षा नियमावली विपरीत भन्दै बडीमालिका नगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकामा नेपाली कांग्रेसबाट विजयी पदम बडुवाल मेयर छन् भने सोही पार्टीबाट विजयी कविता विष्ट उपमेयर छिन्। उनीहरुको निर्देशनमा निमित्त प्रशासकीय अधिकृत त्रिलोक चन्द्रले जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ लगायतलाई स्कुल बन्द गराउन पत्र काटेका हुन्।
मासिक १ सय रुपैयाँ मात्रै शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि चिनिएको स्कुल बन्द हुन लागेपछि स्थानीयबासी आक्रोशित बनेका छन्। सोही नगरपालिकाभित्र सञ्चालित दुई बोर्डिङ स्कुलको प्रभावमा नगरपालिकाका जनप्रतिनिधिले उक्त निर्णय लिएको स्थानीयको आरोप छ।
शिक्षा र विकासका हिसाबले पछि परेको जिल्लामा स्थानीय नियम खुकुलो बनाएर भए पनि यस्ता स्कुल सञ्चालनमा सहयोग गर्नुपर्नेमा बन्द गराउने निर्णय भएपछि स्थानीय आक्रोशित भएका हुन्।
समता स्कुल विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट चल्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।