काठमाडौं- हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच सम्झौता भएको छ।
दुई संस्थाबीच नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रियको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात् बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्ने जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तर्राष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सञ्जालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गरे। उनले चाँडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड सञ्जालमा सामेल हुने बताए।
बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा पाँच हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको जानकारी दिएको छ। यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्कीका गठबन्धन सञ्जालबाट जारी भएका कार्ड धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटीएम तथा पस टर्मिनलका सञ्जालमा प्रयोग गर्न सक्ने छन्। त्यसका साथै दोस्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।