काठमाडौं– कार्ड अभावमा स्मार्ट लाइसेन्स छपाइ बन्द भएको छ। एक लाखभन्दा बढी सेवाग्राही लाइसेन्सको पर्खाइमा रहेपनि कार्ड नभएकाले दिन नसकिएको यातायात व्यवस्था विभागले बताएको छ।
अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच कार्ड छपाइको काम गर्न सकेन।
कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन। करिब ३० हजार जतिमात्र कार्ड रहेकोमा अत्यावश्यक केही कार्ड छपाइ गरेकाले अहिले करीब २० हजारमात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन्।
योबीचमा विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरीलगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ।
गत पुसदेखिका करिब ६ लाख कार्ड छाप्न बाँकी रहेको घिमिरेले बताए। विभागले गतवर्षको बन्दाबन्दीमा मात्रै १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो।
विभागले फागुनमा फ्रेन्च कम्पनी सिल्पसँग १४ लाख नयाँ कार्डका लागि सम्झौता गरेको थियो। यो कार्ड आउने प्रक्रिया अघि बढिसकेको महानिर्देशक घिमिरेले बताए। आगामी डेढ महीनाभित्रै १४ लाख कार्ड आउने जानकारी उनले दिए।
कार्ड उपलब्ध भएको केही समयममै सबै लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गर। विभागले गत पुससम्मका सबै कार्ड छापिसकेको बताए पनि १४ महिना पहिले प्रक्रिया अघि बढाएर पनि कार्ड पनि नपाएको गुनासो सेवाग्राहीको छ। अघिल्लो वर्ष कार्ड रिन्यु गर्न दिएका जोरपाटीका हरि ढुंगानाले कार्ड नपाएको बताए।
सेवाग्राहीले कार्ड नपाएको गुनासोमा विभागका महानिर्देशक घिमिरे भने कार्यालयमा कार्ड लिन नगएकाले वा कार्यालयको व्यवस्थापनका क्रममा केही समस्या भएको हुन सक्ने बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।