काठमाडौं- यूएईको दुबईमा जान ४८ घण्टाभित्रको पीसीआर 'नेगेटिभ' रिपोर्ट र चार घण्टाअघिको र्यापिड पीसीआर टेस्ट चाहिने भएको छ।
दुबईमा प्रवेश गर्ने नेपालीहरुलाई कोभिड खोप नलगाएको भए पनि प्रवेश दिइने तर ४८ घण्टाभित्रको पीसीआर 'नेगेटिभ' रिपोर्ट र चार घण्टाअघिको र्यापिड पीसीआर टेस्ट अनिवार्य चाहिने अबुधाबीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, 'दुबईको आवसीय भिसा भएका नेपालीहरुले कोभिड-१९ को खोप लगाएको प्रमणपत्र पेस नगरे पनि दुबई प्रवेश गर्न सक्नुहुनेछ। तर ४८ घण्टाभित्रको पीसीआर 'नेगेटिभ' रिपोर्ट र चार घण्टाअघिको र्यापिड पीसीआर टेस्ट भने चाहिनेछ।'
यसअघि दुबई प्रवेशका लागि नेपालको विमानस्थलमा नै चार घण्टाअघि र्यापिड पीसीआर टेस्ट गरिएको हुनुपर्ने व्यवस्थाका कारण युएई फर्कने नेपालीहरु जान समस्या भएको थियो। विभिन्न एयरलाइन्स कम्पनीहरुले अन्तिम समयमा उडान रद्द गर्दा दुबई जान लागेका यात्रुहरु एयरपोर्टमै अलपत्र परेका थिए। दूतावासले आज जारी गरेको विज्ञप्तिमा पनि विमानस्थलमै परीक्षण गर्नुपर्ने या जुनसुकै ल्याबमा गरे पनि हुने भन्नेबारे खुलाइएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।