राजविराज– तापक्रम वृद्धिका कारण सप्तरी, सिरहा, धनुषा लगायत तराई–मधेसको जनजीवन कष्टकर बनेको छ। वर्षा नहुँदा एकसाता यता बढेको तापक्रमले सर्वसाधारणको दैनिकी प्रभावित भएको हो।
बजारमा सर्वसाधारणको चलह पहल कम हुँदै गएको छ। शिक्षण संस्था तथा सरकारी कार्यालयहरुमा समेत विद्यार्थी र सेवाग्राहीको उपस्थिति घटेको छ।
बिहानैदेखिको गर्मीका कारण विद्यार्थी कम आउन थालेको शिक्षकहरुले बताएका छन्।
तापक्रम बढेपछि गर्मीबाट जोगिन सर्वसाधारण दिनभरि जसो खुला ठाउँ र रुखको छहारीमा बस्न थालेका छन्।
‘घरमा गर्मीले बसिसक्नु छैन,’ कञ्चनरुप नगरपालिका वडा ६, रघुनाथपुर टोलका विलेती सदाले भने, ‘परिवार र बालबच्चासहित रुखको छहारीमुनि बस्नु पर्ने अवस्था छ।’ उनले रातिको समयमा अझ समस्या हुने गरेको बताए। भने, ‘दिनभरि त बाहिरफेर शितलमा घुमेर, रुखकै छहारीमा बसेर कटाउन सकिन्छ। राति गर्मी र मच्छडले सुत्न सकिँदैन।’
गर्मी बढेपछि मजदुरी गर्ने व्यक्तिहरु बढी प्रभावित भएका छन्। गर्मीमा काम गर्न सक्ने अवस्था नरहको र मान्छेको चहल–पहल पनि कम हुने भएकाले मजदुरीका लागि नगई घरमै बसेको सदाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।