काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले साझा सेवा (सहकारी संस्था)ले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरेको छ।
बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा यो सेवाको उद्घाटन गरे।
कार्यक्रममा साझा सेवा (सहकारी संस्था)का प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइँकेल लगायतको उपस्थिति रहेको थियो।
साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा (सहकारी संस्था)को पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक आवद्ध भएको जनाइएको छ। देशैभरि छरिएर रहेका आफ्ना १०४ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।
बैंकले सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।