काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। विभागले ट्रायल खुलाउन माग गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गर्ने भएको छ। ट्रायल खुलाउन माग गर्दै मंगलवार सीसीएमसीमा सिफारिस गर्ने तयारी गरिएकोे विभागका महानिर्देशक नवराज घिमिरेले बताए।
निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले मातहतका कार्यालयसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो। विभागले साउन अन्तिम सातादेखि नै ट्रायल खोल्ने निर्णय गरी कार्यालयहरूलाई आवश्यक तयारी गर्नसमेत निर्देशन दिइसकेको थियो। सीसीएमसीले स्वीकृति दिएमा तत्काल ट्रायल खोल्न सकिने विभागको भनाइ छ। अनुमति नपाएमा भने तत्काल सेवा सुरु गर्न नसकिने विभागले जनाएको छ।
विभागले निषेधाज्ञा सुरू भएपछि गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो। निषेधाज्ञाअघि नै आवेदन दिएकामध्ये ४ लाखका ट्रायल परीक्षा हुन सकेको छैन।
यसैबीच, विभागले लिखित र ट्रायल दुवै परीक्षाको मोडालिटीसमेत परिवर्तन गरेर ‘सवारी अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५ सय प्रश्न सार्वजनिक गरी त्यसैबाट सोध्ने तयारी गरिएको छ। यसैगरी ट्रायलमा पनि अब ७० अंकमात्रै प्राप्त गर्नेले पनि लाइसेन्स पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।