काठमाडौं- नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश आउनसक्ने संकेत गरेको छ। संघीय संसद्को बर्खे अधिवेशन अन्त्य भएलगत्तै उसले दल विभाजनका प्रावधानलाई अहिलेभन्दा खुकुलो बनाउनेगरी अध्यादेश आउनसक्ने संकेत गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो। लगत्तै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएकी थिइन्। सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त पत्र पढेर सुनाउँदै सोमबार मध्यरात १२ बजेदेखि संसद् अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए।
त्यसलगत्तै अध्यादेशको चर्चा भइरहेका बेला सत्ता गठबन्धनको प्रमुख घटक, नेपाली कांग्रेसका एक शीर्ष नेताले चाँडै राजनीतिक दलसम्बन्धी अध्यादेश आउनसक्ने बताए। मुख्यतः नेकपा एमालेको माधवकुमार नेपालपक्षलाई सहज हुनेगरी त्यो अध्यादेश आउनसक्ने जानकारी उनले दिए। 'माधवजीहरुले निर्णय गर्न गाह्रो हुँदा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन, अरु धेरै काम ठप्प भएका छन्, त्यसकारण अब चाँडै मन्त्रिीमण्डललाई पूर्णता दिएर सरकारलाई फुल फ्लेज सञ्चालन गर्नका लागि अध्यादेश ल्याउन जरुरी भइसकेको छ,' ती नेताले भने, 'मुख्यतः माधवजीहरुलाई दल विभाजन गर्न सहज होस् भनेर नै अध्यादेश ल्याउने हो। त्यसबारे हामी गृहकार्य गरिरहेका छौं।'
सत्ता गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जसरी पनि नेपाल समूहलाई एमालेबाट फुटाएर गठबन्धनमा जोडिराख्न चाहन्छन्। नेपाल समूहबेगर वर्तमान गठबन्धन सरकार जतिखेर पनि अल्पमतमा पर्ने जोखिम रहेको उल्लेख गर्दै ती नेताले दल विभाजनपछि नेपालपक्ष सरकारमा सहभागी हुने भएकाले पनि यो गृहकार्यमा जुटेको बताए।
सत्ता गठबन्धनले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा (२) लाई बदल्ने तयारी गरेको छ। सो उपदफामा ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भइ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन,’ भन्ने उल्लेख छ।
केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत नपुर्याइ हालको प्रावधानले दल फुटाउन सम्भव छैन। त्यसो हुँदा सम्बन्धित दलबाट निष्काशनमा पर्ने संसद् सदस्यहरुको पद गुम्छ। एमालेको नेपालपक्षसँग यो प्रावधानअनुसार दल विभाजन गर्नका लागि संसदीय दलमा ४० प्रतिशत पुग्ने संख्या देखिएको छैन। केन्द्रीय समितिमा भने नेपालपक्षले ४० प्रतिशत पुर्याउनसक्ने देखिन्छ। केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत पुर्याए दल फुटाउन सकिने व्यवस्था अध्यादेशमार्फत् गर्न खोजिएको सत्ता गठबन्धनका अर्का एक नेताले बताए। उनले ‘र’ को स्थानमा ‘वा’ राखेर अध्यादेश आउनसक्ने उल्लेख गरे।
नेपालपक्ष सरकारमा जानुपर्ने वकालत गर्दै आएका सोपक्षका सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले गत साता नै अध्यादेश आउनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘संसद्को चालु अधिवेशन धेरै दिन चल्दैन। संसद् अन्त्य गरेर अध्यादेश आउँछ। अनि हामी सरकारमा जाने बाटो खुल्छ।’
उनका अनुसार नेपालपक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसके मौजुदा प्रतिशत पनि अध्यादेशमार्फत् केही कम गर्ने प्रयास हुन सक्छ। नेपाल समूहलाई दल फुटाउन सहज बनाउनेगरी सत्ता गठबन्धनले अध्यादेश ल्याउन लागेकोबारे सोधिएको प्रश्नमा ती नेताले भने, ‘मन्त्रीमण्डलले पूर्णता पाउन सकेन। उहाँहरु पनि सरकारमा आउन खोज्नुभएको छ। दल फुटाउने व्यवस्थामा संशोधनसहित अध्यादेश आउनसक्छ।’
नेपालपक्ष सरकारमा जानुपर्ने वकालत गर्दै आएका सोपक्षका सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले गत साता नै अध्यादेश आउनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘संसद्को चालु अधिवेशन धेरै दिन चल्दैन। संसद् अन्त्य गरेर अध्यादेश आउँछ। अनि हामी सरकारमा जाने बाटो खुल्छ।’
प्रमुख प्रतिपक्ष एमालेले संसद् अधिवेशन अचानक अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ। संसद्लाई बिजनेस नदिएर पूर्ववर्ती केपी शर्मा ओली सरकारले संसद् अन्त्य गरेको आरोप कांग्रेसले लगाउँदै आएको थियो। सोही प्रवृत्ति देउवा सरकारले देखाएको भन्दै विरोध सुरु भएको छ। संसद् अन्त्य गरेकोप्रति एमाले सांसद विन्दा पाण्डेले आपत्ति जनाइन्। नागरिकता विधेयकको माग भएर पनि संसद्मा टेवल नगरिएको उल्लेख गर्दै उनले भनिन्, ‘यौनजन्य हिंसा र एसिड प्रहारसम्बन्धी अध्यादेश आजैबाट खारेज भयो। अफगानिस्तानका नेपालीबारे संसद्लाई जानकारी दिनुपर्ने निर्देशन र संसद् अन्त्य पनि आजै भयो।’ विगतमा ओली सरकारलाई लगाइएको आरोपको प्रतिवाद गर्दै सांसद पाण्डेले ट्वीटरमा लेखेकी छन्, ‘सरकार कसरी चलाउनुपर्छ, देखाउँछौं भनिएको थियो। यही हो? यसै गर्ने भनेको हो? कुरा बुझिएन।’
२०७७ वैशाख ८ गते तत्कालीन प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। तर, आफ्नै पार्टी नेकपाभित्र भएको तीव्र विरोधपछि उनले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए।
एमालेको माधवकुमार नेपालपक्षका एक स्थायी कमिटी सदस्यले भने अध्यादेशको तयारीबारे अनभिज्ञता प्रकट गरे। उनले भने, 'हामी अन्तिमसम्म पनि एमालेलाई एकताबद्ध पार्ने अभियानमा लागिरहेका छौं। अहिले यसबाहेक अरु केही सोचेका छैनौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।