काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेकी हुन्।
अधिवेशन अन्त्य भएको बेहोरा सभामुख अग्निप्रसाद सापकोटाले संसदमै पढेर सुनाएका छन्।
राष्ट्रपति भण्डारीको संसद अधिवेशनसम्बन्धी पत्र आइपुगेको बताउँदै मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्।
पत्र पढेर सुनाउँदै सापकोटाले भने, ‘साउन ३२ सोमबार १२ बजेदेखि दुवै अधिवेशन अन्त्य भएको पत्र प्राप्त भएकाले प्रतिनिधि सभाको अधिवेशन राति १२ बजेदेखि स्वतः अन्त्य हुनेगरी स्थगित हुन्छ।’
प्रतिनिधि सभाको दोस्रोपल्ट पुनःस्थापनापछि साउन ३ गते पहिलो बैठक बसेको थियो। सोही बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतसमेत लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।