वीर अस्पतालको ठयाक्कै सामुन्ने टेम्पो पार्क छ। त्रिपुरेश्वर, कालिमाटी हुँदै छाउनी जाने तथा सिंहदरबार, अनामनगर, हुँदै सिनामंगल जाने रुटको टेम्पो यहाँ लाइनमा हुन्छन्।
म ट्रमा सेन्टर नजिकको जेब्रा क्रसबाट टेम्पो पार्कतिर लागेँ। एउटा टेम्पोको बाहिर लेखिएको छ, ‘सक्षम महिलाद्वारा सञ्चालित सफा टेम्पो।’ यो वाक्यले तान्यो। म त्यही टेम्पोतिर लम्केँ।
आफ्नो टेम्पोेको पालो कुरिरहेकी छिन्, चालक कल्पना डंगोल। उनी चालकको सिटमा बसेर मोबाइल खेलाइरहेकी छिन्। म नजिकै पुगेँ।
‘जाने हो?’ उनले भनिन्।
‘जाने हो,’ मैले भनेँ। यसै पनि अनामनगर जानु नै थियो।
तर, मैले टेम्पो कता जान्छ भनेर सोधिनँ। न त लेखेको नै पढेँ। हत्त न पत्त अगाडितिरको दैलो खोलेर चालकछेउमै बसेँ। अनि गफिन थालेँ।
खासमा मलाई उनीसँग गफिन मन लागेको थियो।
चलनै हो, ‘घर कहाँ हो?’ बाट गफ सुरु गर्ने। कल्पना (३५) को घर रहेछ, रामेछापको फुलासीपोखरी। १७ वर्षकै उमेरमा साथी–संगीको लहैलहैमा काठमाडौँ पसिछिन्। यहाँ काम गर्ने र कमाउने सपना रहेछ।
काठमाडौँ आएपछि पढाइ छुट्यो। कमाइ के हुन्थ्यो, उही खान पुग्ने मात्र। बरु कामकै सिलसिलामा उनले बिहे गरिन्। ‘दुवै एकै ठाउँतिरका रहेछौँ, काम गर्दागर्दै मन मिल्यो, अनि बिहे गरियो,’ उनी भन्छिन्।
उनीहरुको एक छोरा छन्, १० कक्षामा पढ्छन्। श्रीमान् घरहरुमा रङ लगाउने काम गर्छन्। दुई जनाले नै काम गर्दा खान–लगाउन दुःख छैन।

पहिला त उनी घरको काम गर्थिन्। कमाइ राम्रो थिएन, सम्मान पनि हुँदैन थियो। ‘अनि त्यस्तो काम गर्नै मन लागेन। छाडिदिएँ। कसैको काम नगरी आत्मनिर्भर हुन मन थियो। अनि टेम्पो सिकेर चलाउन थालेँ,’ उनी भन्छिन्।
उनीहरुले छाउनीमा कोठा भाडामा लिएका छन्। टेम्पो भने साहुको हो। दिनभरिमा टिपअनुसार पैसा बुझाउनुपर्छ। उनी सफा टेम्पो व्यवसायी संघमा आबद्ध छिन्। संघले सफा टेम्पो चालकहरुको व्यवस्थापन गर्छ। अस्थायी र स्थायी गरी दुई प्रकारका चालक छन्। उनी स्थायी चालक हुन्। महिनाको १६ हजार तलब हुन्छ। कमाइ राम्रो भएको दिन उनले अतिरिक्त पैसा कमाउन सक्छिन्। जीवन टेम्पोको पाङ्ग्राजस्तै घुमिरहेकै थियो।
तर, अचानक आयो, कोरोना भाइरसको महामारी। सरकारले त्यसलाई रोक्न भनेर डेढ वर्षअघि ‘लकडाउन’ घोषणा गरिदियो। उनको टेम्पोको चक्का बन्द भयो। करिब आठ महिना टेम्पो थन्काइन्।
अनि टेम्पो निकालेर फेरि गुडाउन थालेको केही महिनामै कोरोनाको अर्को लहर आयो। सरकारले निषेधाज्ञा लगायो। उनले फेरि टेम्पो बन्द गरिन्।
टेम्पो रोकेपछि त्यसका चक्का झैँ घुम्नुपर्ने जीवन पनि रोकिइहाल्छ। ‘अरु त टार्दै गरौँला, मुख बन्द गरेर बस्न नसकिने रहेछ। बाध्यताले टेम्पो निकालेको हुँ,’ उनी भन्छिन्।
टेम्पो रोकेपछि त्यसका चक्का झैँ घुम्नुपर्ने जीवन पनि रोकिइहाल्छ। ‘अरु त टार्दै गरौँला, मुख बन्द गरेर बस्न नसकिने रहेछ। बाध्यताले टेम्पो निकालेको हुँ,’ उनी भन्छिन्।
गएको २८ साउनमा काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारी साधन चलाउन रोकेका छन्। यो समाचार सुनेर उनको मन कुँडिएको छ। लामो समय ट्याम्पो थन्किँदा र श्रीमान् पनि कामविहीन हुँदा समस्याका चाङ लागेका छन्। जीवन चल्ने आधार टेम्पो दिउँसो पनि बन्द गरिदिए भने आपतले थिच्छ। जसरी पनि टेम्पोको पाङ्ग्रा घुमाउनु नै छ।
‘सरकारले रासन भरिदिने होइन, एक केजी पनि चामल र दाल दिने होइन। बन्द मात्र समस्याको समाधान हो र?’ उनले आक्रोस पोखिन्, ‘कसैलाई ढाँटेको छैन, छलेको छैन। हामीजस्तो दुःख गरेर खानेलाई घरमै थुनिदिनु त भएन नि!’
बिरामी भए अस्पताललाई सुविधासम्पन्न र सस्तो बनाउनुपर्ने उनको भनाइ छ। तर, खाने मुखै बन्द गर्न नहुने हो। आफूहरुले रोगबाट सुरक्षित भएर काम गर्न चाहेको उनी बताउँछिन्।
उनी साँझ घर गएपछि दिउँसोभरि लगाएका लुगा फुकालेर अलग्गै राख्छिन्। त्यसलाई धोएर मात्र पुनः लगाउँछिन्। मास्क पनि धोएर मात्र प्रयोग गर्छिन्। साथमा स्यानिटाइजर बोक्छिन्। ‘ज्यानको माया त जसलाई पनि हुन्छ, तर भोकले मार्नु चाहिँ भएन,’ उनी भन्छिन्।
पहिलो लकडाउनमा उनी घर गएकी थिइन्। घरमा सासू–ससुरा र दाजुभाइ छन्। सबै अलग भइसकेका छन्। लकडाउनमा गाउँ बसिन्। तर, मन पोलिरह्यो। ‘बिहान काम गरेर बेलुका खानेहरुलाई समस्या भयो, ऋण पनि नपाउने अवस्था भयो,’ उनी भन्छिन्।
गाउँ बसिरहन पनि अप्ठ्यारो थियो। ‘राम्रो भए सहर बस्ने, दुःख पर्नेबित्तिकै गाउँमा गएर पनि हुँदैन,’ उनी भन्छिन्, ‘सहरमा राम्रो हुँदा कसैले कहिलै गाउँ सम्झिँदैनन्। गाउँका मान्छेले भनेको ठीकै हो, उनीहरुले दुःखमा पनि गाउँ छाडेका छैनन्।’
जे होस्, उनी सहर छाड्ने पक्षमा छैनन्। सहर छाडेर गाउँमा टिक्ने मेलो पनि छैन। ‘जग्गा–जमिन नभएपछि के गर्ने र?’ उनी भन्छिन्।
उनले पहिलो चरणको खोप लगाइसकेकी छिन। सबै चालकहरुलाई सरकारले प्राथमिकतामा राखेर खोप दिनुपर्ने उनी बताउँछिन्। ‘मजदुरले बाँच्न पाउनुपर्छ। उनीहरुलाई खोप लगाइदिएर काम गर्ने छुट दिनुपर्छ। हामी स्वास्थ्यका मापदण्ड पूरा गरेरै काम गर्न तयार छौँ,’ उनी भन्छिन्।
रोगविरुद्ध लड्न पनि खानै पर्छ। काम नगरे खान पुग्दैन। निषेधाज्ञा धनीको लागि ठीकै भए पनि गरिबका लागि उचित नभएको उनी बताउँछिन्। गरिखाने बाटो थुन्नुभन्दा त्यसको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
उनीसँग गफ गर्दागर्दै उनको पालो आएछ। यात्रु बोलाउन थालिन्, ‘त्रिपुरेश्वर, टेकु, कालिमाटी, स्वयम्भु, छाउनी, छाउनी...’ म जानुपर्ने दक्षिण–पूर्व, अनामनगरतिर, टेम्पो रहेछ उत्तर–पश्चिम जाने।
टेम्पो गुड्न सुरु भइसकेको थियो। ‘दिदी म त अनामनगर पो जाने हो,’ मैले भनेँ। उनले टेम्पो रोकिन् र भनिन्, ‘आफ्ना कुरा भन्न पाएँ मनै हलुको भयो। धन्यवाद है बहिनी!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।