काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका विषयमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महन्थ ठाकुरपक्षले नयाँ दल दर्ता गरेर जाने तयारी थालेको छ। सर्वोच्चले दलको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थपक्षले दर्ता गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले सोमबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो।
‘हामीले निर्वाचन आयोगले दिएको पार्टी आधिकारिकताका विषयमा सर्वोच्च अदालतमा रिट हालेका थियौं। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्यो,’ महन्थपक्षका नेता लक्ष्मणलाल कर्णले भने, ‘हामी राजनीति गर्ने मान्छेलाई पार्टी चाहिन्छ। त्यसैले अब पार्टी दर्ता गरेर चलाउँछौं।’
आफूहरुलाई जसपामा बस्न 'स्पेस' नभएपछि नयाँ दल दर्ता गरेर जानुको विकल्प नभएको कर्णले बताए। सर्वोच्चको निर्णय चित्त नबुझे पनि कार्यान्वयन गरेर जाने कर्णले बताए।
उपेन्द्रपक्षका नेताले राष्ट्रिय जनता पार्टी (राजपा) दर्ता गरिसकेकाले अर्को नयाँ दल दर्ता गर्नुपर्नेछ। महन्थपक्षले कुन दल दर्ता गरेर जाने भन्ने विषयमा कर्णले खुलाउन चाहेनन्। निर्वाचन आयोगले समेत महन्थसहित १५ जना कार्यकारिणी सदस्यलाई हटाएर जसपाको विवरण अध्यावधिक गरेको छ।
उपेन्द्रपक्षका एक नेताले महन्थसहित ११ जनाको सांसद पदसमेत नरहने दाबी गरे। ‘जसपाको पार्टी विधि विधान मानेर बस्छु भन्ने भएमा सांसद पद कायमै हुन्छ,’ उपेन्द्रपक्षका ती नेताले भने,‘यदि अर्को पार्टी दर्ता गरेर चलाउँछु भन्ने भएमा सांसद पद रहँदैन। पार्टीले कारबाही गर्छ।’
तर, कर्णले आफूहरु जसपाबाट निर्वाचित नभएको भन्दै राजपाबाट निर्वाचित भएकाले उपेन्द्रपक्षले कारबाही गर्न नमिल्ने दाबी गरे। ‘हामीहरु जसपाबाट निर्वाचित सांसद होइनौं, राजपाबाट निर्वाचित भएका हौं,’ कर्णले भने, ‘हाम्रो सांसद पद कायम रहनेगरी नयाँ दल दर्ता गरेर जान्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।