काठमाडौं- सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले सोमबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो।
जनता समाजवादी पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपा नेता ठाकुरले दायर गरेको रिटमा सोमबार तेस्रो सुनुवाइ भएको थियो। सर्वोच्चले अन्तरिम नदिएपछि अब निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको आधिकारिकता सदर भएको छ।
आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन ८ र १५ गते सर्वोच्च अदालतमा दुई थान रिट दायर गरेका थिए। आयोगले जसपा विवाद समाधान गर्न स्थापनाकालका कार्यकारी समितिका मानिसलाई उपस्थित हुन भनेपछि पहिलो पटक सर्वोच्चमा रिट दायर गरेका थिए भने दोस्रो पटक उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दायर गरेका थिए।
उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो। त्यस्तै, साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो।
महन्थ ठाकुरको वारेस बनेर अधिवक्ता प्रदीपकुमार पाठकले दायर गरेको रिटमा यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।