काठमाडौं– पेट्रालियम पदार्थको मूल्य बृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्। नक्कली फेसबुक आइडी बनाएर जभाभावी लेखी त्यसको ‘स्क्रिनसट’ बनाएर आफ्नो बेइज्जत गरिएको उनको भनाई छ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा केही नबोलेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। केहीले नक्कली फेसबुक आइडी बनाएर जभाभावी च्याट गरेर त्यसको फोटो राखी प्रचार गरीरहेको लामाको भनाई छ। त्यसविरुद्ध साइबर क्राइम मुद्दामा आफुले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको उनले बताइन्।
पेट्रोलियम पदार्थको मूल्य बृद्धिका लागि आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादबलाई ज्ञापनपत्र समेत बुझाइसकिएको उनको भनाई छ। तर, राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्तिहरुले आफ्नो चरित्रहत्याको प्रयास गरेको लामा बताउँछिन्।
सो विषयमा उनले फेसबुकमा लेखेकी छिन्–
प्रिय साथीहरू, पेट्रोलियम पदार्थको मूल्य बृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्रहत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरी राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको सदुपयोगमा जहिले पनि सावधानी अपनाउँदै आएको छु। मबाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिबिधिमा संलग्न जो कोही उपर पनि कानुनी कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।