राजविराज– निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि सप्तरीको बोदेबर्साइन नगरपालिकासहित सम्पूर्ण वडा कार्यालयको कामकाज ठप्प भएको छ।
अधिकृत उमेशकुमार यादवमाथि मंगलबार वडा नम्बर ५ का महेश यादवले हातपात गरेको नगरपालिका कार्यालयले जनाएको छ। उनी सोही वडाको विद्युतीकरणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष हुन्।
कुल ५ लाख रुपैयाँमा भएको विद्युतीकरणको काम सुरु हुनुपूर्व धरौटीबापत नगरपालिकाको खातामा जम्मा गरेको २० प्रतिशत रकम फिर्ता माग गर्ने क्रममा अध्यक्ष यादवले अधिकृतमाथि कुटपिट गरेका थिए।
रकम भुक्तानीका लागि नगरपालिका कार्यालयले दिएको चेकमा त्रुटि भई रकम निकासा नभएपछि आक्रोशित महेश यादवले दोस्रो चेक लिएर जाने क्रममा आफूमाथि हातपात र गालीगलौज गरेको अधिकृत यादवले बताए। यादवले मङ्गलबारै सम्पूर्ण वडाको कामकाज ठप्प पार्न पत्राचारसमेत गरिसकेका छन्। जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय समेतलाई पत्रमा बोधार्थ दिइएको छ।
नगरपालिकाका मेयर आतेशकुमार यादवले भने सामान्य विषयलाई बढाइचढाइ प्रचार गरेको भन्दै कार्यालयको कामकाजसमेत सञ्चालन भइरहेको दाबी गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।