काठमाडौं- नेपाली कांग्रेसभित्र देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ।
शीर्ष तहका नेताहरुले पार्टीमा क्रियाशील विवाद मिलाउन नसकेपछि कृष्णप्रसाद सिटौला, मिलेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।
यसअघि बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद हल गर्ने निर्णय गरेको थियो।
सदस्यता छानबिन समितिले उक्त बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो। समितिका सदस्य प्रदीप पौडेलले ९४ प्रतिशत क्रियाशील सदस्यता विवाद समाधान गरेको बताएका थिए।
तर, नवीकरण र अन्य दलबाट आएकाहरुको समायोजन गर्दा अपनाइएको विधिमा पार्टी भित्र विवाद छ। बारा र सप्तरीको क्रियाशील सदस्यता इन्ट्री नै हुन सकेको छैन। सर्लाही र धनुषामा नवीकरणको विवाद छ।
सिन्धुपाल्चोक र रसुवामा समायोजन भएर बनेका क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन। यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने करिब ४० जिल्लामा समस्या रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।