काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीति स्वागतयोग्य भएको बताएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी आएको नाडाको भनाइ छ।
मौद्रिक नीतिमा विद्युतीय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाका लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने कुराले अटोमोबाइल व्यवसायीहरुलाई राहत पुग्ने देखिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
'कोभिड-१९ महामारीबाट अति प्रभाववित क्षेत्रमध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरिनेछ भनिएको छ। त्यसैगरी कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन/मर्मत सम्भारका लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन दुई लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्नसक्ने व्यवस्था र ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारीसाधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्नसक्ने व्यवस्थाबाट विपन्न वर्गलाई सवारीसाधन खरिद गरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई केही राहत पुग्ने देखिन्छ,' नाडाले भनेको छ।
त्यसैगरी, निषेधाज्ञा अवधिको गत असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई-ईक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरुको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी आगामी पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्नसक्ने व्यवस्था गरिनु सकारात्मक भएको जनाएको छ। नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्थाबाट निजी क्षेत्रले समेत खोप उत्पादन गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसर पाउने देखिएको नाडाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।