इनरुवा– सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ। लामाे समयदेखि सोलार फेन्स (विद्युतीय बार)ले काम गर्न छोडेकाेले पनि कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घर तथा बालीनालीमा क्षति पुर्याउने गरेको स्थानीयवासी चन्दन मगरदैताले बताए।
स्थानीयवासी कलिम मियाँका अनुसार यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको विद्युतीय बार पूर्णरुपमा प्रयाेगविहिन छ। 'विद्युतीय बारले काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको हाे।', उनले भने।
रातिको समयमा दैनिकजसो कोशीटप्पु वन्यजन्तु आरक्षबाट जंगली हात्ती निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। गएराति मात्र जंगली हात्तीको आक्रमणबाट १ जना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ। जंगली हात्तीले सर्वसाधारणको घर भत्काइदिएको छ भने बालीसमेतमा क्षति पुगेको छ।
हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन्। घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। मगरदैताको अवस्था चिन्ताजनक रहेको बताइएको छ। हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पुर्याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट वर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने ४ देखि ७ जना व्यक्तिको ज्यान जाने गरेको कोशीटप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए।
अध्यक्ष यादवका अनुसार कोशीटप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको छ।
जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले दुखेसो पोखे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।