सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ।
अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले हाललाई प्रादेशिक विमानस्थल निर्माण गरिने भएको हो।
यसअघि साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करिब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो। तीमध्ये हालको भेरीगंगा नगरपालिकामा पर्ने ‘मदानेचौर’ विमानस्थलका लागि उचित ठानिएको थियो।
उक्त विमानस्थल निर्माणका लागि अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले लागत बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पछि हट्नु परेको जनाएको छ।
प्रादेशिक स्तरको विमानस्थल बनाउन पनि कम्तीमा १० अर्ब रुपैयाँ खर्च लाग्ने प्राधिकरणले जनाएको छ। अब बन्ने भनिएको प्रादेशिक स्तरको विमानस्थलमा २ हजार ६ सय मिटरसम्म धावनमार्ग बनाउन सकिने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।
विमानस्थल निर्माणका लागि काम सुरु भएमा आगामी ५ वर्षभित्र नै सम्पन्न भइसक्ने उनले दावी गरे।
उक्त विमानस्थल निर्माणको विषय अहिलेको संघीय बजेटमा समावेश गरिएको छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बजेटमा उक्त विमानस्थल नसमेटिए पनि प्राधिकरणले बनाउने बजेटमा समावेश गरिने आश्वासन दिएका छन्।
पर्यटनका हिसाबले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उनले यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।