काठमाडौं- ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको सातौं संस्करणमा आवेदन दिने किशोर किशोरीबाट उत्कृष्ट २० छनोट भएका छन्। उनीहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको र उक्त सूची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
देशभरबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन्। किशोर किशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो।
यस वर्ष सेप्टेम्बर १ तारिखका दिन अनलाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् उनीहरु पुरस्कृत हुने भएका छन्। सोही दिन ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपाल विजेताको नाम पनि घोषणा गरिने आयोजकले जनाएको छ।
ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरका अनुसार २० अन्डर २० किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
साथै, उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिखमा हुने बताइएको छ। चयन भएका युवाहरुको सम्मान ‘वाईवाई ग्लोकल टिन हिरो’ को सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड कार्यक्रममार्फत् हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।