काठमाडौं- लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जनाले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।
नेकपा माओवादी केन्द्रका सांसद इन्द्रजित थारुका अनुसार कांग्रेस/माओवादीबाट एक/एक जना, जसपाबाट तीन जना र सूर्य चिन्हबाट चुनाव जितेका हृदयश त्रिपाठी समूहका अजयबहादुर शाहीले शपथ लिएका छन्।
माओवादीका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका डिल्लीबहादुर चाैधरीले ग्रामिण तथा शहरी विकासमन्त्री र जसपाका सहसराम यादवले भाैतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, जसपाकै सुमन शर्मा रायमाझी र पुर्तमति ढेंगा मगरले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।
यसअघि एमालेको संसदीय दलको बैठकमा सहभागी हुँदै आएका शाहीले पनि बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएकाे थारुले बताए। शाहीलाई नेकपा (एमाले)ले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ।
लुम्बिनीमा १० सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी छ। बाँकीलाई दोस्रो चरणमा समेट्ने मुख्यमन्त्री केसीको योजना छ।
केसी कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। जनमोर्चाले भने सरकारमा सहभागी यसअघि नै बताइसकेको छ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।