काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ५० को दशकमा रोल्पाको लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयको स्थायी शिक्षकको रुपमा कार्यरत थिए। संयुक्त जनमोर्चाको राजनीतिमा समेत सक्रिय थिए उनी। त्यति नै बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको आरोपमा उनको शिक्षक पद गुम्यो।
सरकारी जागिरेले राजनीतिक गतिविधि गर्न नपाउने भन्दै तीब्र बिरोध भएपछि स्थायी शिक्षकबाट राजीनामा दिएका केसी त्यसपछि भने सक्रिय राजनीतिमा लागेका थिए। २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले दीर्घकालिन ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत राजनीतिमा सक्रिय भए।
माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। ‘जनयुद्ध’मा भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाई थपिँदै गयो। २०५५ सालमा आउँदा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ सालमा भेरी-कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए।
पूर्वसभामुख कृष्णबहादुर महराकै प्रेरणाले केसी विद्यालय तहमै पढ्दापढ्दै विद्यार्थी राजनीतिमा जोडिए। त्यतिबेला (२०४३ साल) मा उनी नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भएका थिए। एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पस झरे। त्यहाँ आईए पढ्दा पढ्दै विद्यार्थी संगठनमा आवद्ध भई सक्रिय राजनीति गर्न थाले। विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए।
तिनै केसी एमाले नेता शंकर पोखरेलले राजीनामा दिएपछि चारदलीय गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्। तत्कालिन नेकपाबाट मुख्यमन्त्री भएका पोखरेल संसदमा अल्पमत परेपछि राजीनामा दिएर बाहिरिएका छन्। पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी आएका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थनमा केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन्। माओवादी र कांग्रेसवीच भएको मौखिक सहमती बमोजिम केसीले ८ महिना मुख्यमन्त्रीको नेतृत्व गर्ने छन्। त्यसपछि काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले वाँकी अवधि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्। प्रदेश सभाको कुल ७९ सांसद मध्ये केसीको पक्षमा ४२ जना सांसदले समर्थन जनाएका छन्।
लुम्बिनीको मुख्यमन्त्री रहेका एमालेका पोखरेल २०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ ‘क’बाट निर्वाचित भएका थिए। केसी भने रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनी २०२७ साल माघ १० गते रोल्पा नगरपालिका वडा नम्बर ६, ज्यूवाङमा जन्मेका हुन्।
तीन वर्ष भारतको बक्सर जेलमा बन्दी
‘जनयुद्ध’मा राप्ती क्षेत्रका चर्चित नेताको परिचय बनाएका केसीले २०५६ सालपछि भेरी–कर्णाली क्षेत्रको सैन्य समिसार भई काम गरेका थिए।राजनीतिसँगै गीत संगीत र सहित्यमा समेत उनी सक्रिय रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र पुन ‘सिजल’ बताउँछन्। ‘उहाँ मेरो नजरमा चौतर्फी नेतृत्व गर्न सक्ने नेता र नेतृत्व हो। राजनीतिसँगै साहित्य र सांस्कृतिक विधाको क्षेत्रमा आफ्नो पहिचान बनाउनु भयो। फौजी क्षेत्रमा समेत आफ्नो छाप छाड्नुभयो’, पुनले नेपाल लाइभसँग भने, ‘राजनीति गर्ने व्यक्तिले प्रायः राजनीतिलाई मात्रै ध्यान दिएको पाईन्छ। त्यो सोनाम कमरेडमा लागु हुँदैन। उहाँले राजनीतिसँगै सैन्य र कला, साहित्य, गीत संगीतमा पनि उदाहरण पेस गर्नुभयो।’
गीत, संगीत र साहित्यमा सक्रिय भएकाले संगठन विस्तार गर्नसमेत बल पुगेको नेताहरु बताउँछन्।
तत्कालीन माओवादीले पहिलो पटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी समेत सहभागी थिए। जुनसुकै पेश वा क्षेत्रमा भएपनि केसीले राजनीतिलाई सधैं निरन्तरता दिएको पुन बताउँछन्।
‘सोनाम कमरेड विद्यार्थी हुँदा राजनीतिमा जोडिनुभयो, त्यसपछि रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक हुनुभयो। त्यतिबेला पनि जनमोर्चामा आवद्ध हुनुहुन्थ्यो’, पुनले भने, ‘स्थायी शिक्षकबाट राजीनामा दिनुपर्ने अवस्था आएपछि राजीनामा दिएर ‘जनयुद्ध’मा पूर्णकालीन रुपमा होमिनुभयो।’
‘जनयुद्ध’मा लागेपछि उनी तत्कालीन सेनाको नजरमा परे। त्यहीक्रममा पार्टीको बैठकका लागि भारत जानेक्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी बने। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै उनी जेलबाट छुटेका थिए। जेलबाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजन कमिसारको भूमिका पाए।
तत्कालीन माओवादीका ‘जनमुक्ति सेना’लाई क्यान्टोन्टमा राखिएपछि उनले माओवादीको अद्र्धसैन्य दस्ता वाइसीएलको इन्चार्जको भूमिका पनि बहन गरे।
लडाकु स्वभावका केसी तत्कालीन माओवादीमा ‘दुई लाईन’ सघर्ष भएपछि मोहन वैद्यतिर लागेका थिए। पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा–माओवादी गठन गरेपछि केसीले पनि मुल पार्टी एकीकृत माओवादी छाडेका थिए । प्रचण्डको साथ छाडेका केसी दोस्रो संविधानसभा निर्वाचन बहिष्कारमा लागेका थिए।
वैद्यसँग झण्डै चार वर्ष बस्दासमेत केही हुन नसकेपछि केसी रामबहादुर थापा‘ ‘बादल’सहित मुल पार्टी माओवार्दीमै फर्किए। एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए।
उनी प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता बने। तर, त्यसबेला वामगठबन्धनका तर्फबाट एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेपछि केसी माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बने। एमाले र माओवादी एकतापछि नेकपाको केन्द्रीय सदस्य भएका केसी कानुनमन्त्रीकै जिम्मेवारी सम्हालेर नेकपा संसदीय दलको उपनेता बने। एमाले–माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागे।
कांग्रेस र माओवादीबीच प्रदेश सरकारमा भागवण्डा गर्ने सहमतिपछि गण्डकीको मुख्यमन्त्री कांग्रेस र लुम्बिनीको मुख्यमन्त्री माओवादीले पाउने निर्णय भएको थियो। त्यसअनुसार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बहिर्गमनपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनिसकेका छन्। लुम्बिनीमा भने त्यो सहमतिको परिणाम आउन समय लाग्यो। लुम्बिनीमा भने केसी आठ महिना मात्र मुख्यमन्त्री हुनेछन्। कांग्रेससँग बाँकी आठ महिना कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनाउने सहमति भएको छ।
‘नेकपा विभाजन भएकाले कुलप्रसादजीको भाग्य खुल्यो’, एमालेका एक नेताले टिप्पणी गरे, ‘नत्र उहाँ यो कार्यकालमा मुख्यमन्त्री बन्ने सम्भावना नै थिएन।’
संयोग कस्तो भने लुम्बिनीमा अब प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख तीनै जना माओवादीका भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।